प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा, १५ दिने प्रचार अवधि सुरु



काठमाडौँ,फागुन ३– आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोग नेपालले फागुन ३ गते राति १२ बजेदेखि निर्वाचन प्रचार–प्रसारको १५ दिने समयसीमा सुरु भएको घोषणा गरेको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार राजनीतिक दल र उम्मेदवारहरूले फागुन १८ गते राति १२ बजेसम्म मात्र जुलुस, आमसभा तथा अन्य प्रचार कार्यक्रम सञ्चालन गर्न पाउनेछन्। त्यसपछि ‘मौन अवधि’ सुरु हुने र उक्त अवधिमा कुनै पनि प्रकारका चुनावी गतिविधि, छलफल वा गोप्य प्रचारसमेत गर्न नपाइने उहाँले स्पष्ट पार्नुभयो।

आयोगले निर्वाचन खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको जनाएको छ। आमसभा वा कोणसभामा मञ्च तयारीलगायत भएको खर्चको विवरण उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ। स्वेच्छिक आर्थिक सहयोग लिँदा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिधिभित्र रहनुपर्ने आयोगको निर्देशन छ।

सरकारी स्रोत–साधन प्रयोगमा पूर्ण रोक लगाउँदै नेपाल सरकार, प्रदेश सरकार तथा मन्त्रीहरूले प्रचार–प्रसारमा संलग्न हुँदा सरकारी सुविधा प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। यसको अनुगमनका लागि केन्द्रीय तथा जिल्ला स्तरीय अनुगमन समिति सक्रिय पारिएको आयोगले जनाएको छ।

अधिकांश राजनीतिक दलहरूले आफ्नो घोषणा–पत्र वा प्रतिबद्धता–पत्र आयोगमा बुझाइसकेको जानकारी दिँदै आयोगले तोकिएको समयसीमाभित्र पेश गर्न आग्रह गरेको छ। दलहरूको घोषणा–पत्र कानुनी तथा नैतिक दायित्वसँग जोडिएको दस्तावेज भएको उल्लेख गर्दै आयोगले प्रतिस्पर्धामा जाने दलहरूले आफ्नो नीति, योजना, सुशासन र विकाससम्बन्धी दृष्टिकोण स्पष्ट गर्नुपर्ने बताएको छ।

आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक तथा आम मतदातालाई आवश्यक सहयोगका लागि अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्