नुवाकोट–१ मा हितबहादुर तामाङको आत्मविश्वास : ‘हामीले जितिसकेका छौँ’
काठमाडौं, फागुन ३ – चुनावी मौसमसँगै नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक तापक्रम चर्किँदै गएको छ। सभाहलमा समर्थकहरूको बाक्लो उपस्थिति, नाराबाजी र तालीको गडगडाहटबीच नुवाकोट क्षेत्र नम्बर १, नेकपाका उम्मेदवार एवं पूर्वमन्त्री हितबहादुर तामाङले आफ्ना प्रमुख प्रतिस्पर्धीप्रति कडा टिप्पणी गर्दै आफूहरूको जित सुनिश्चित भइसकेको दाबी गरेका छन्।
नुवाकोट–शिवपुरी काठमाडौं सम्पर्क मञ्चको आइतबार आयोजित बैठकलाई सम्बोधन गर्दै तामाङले कांग्रेस उम्मेदवार प्रकाशशरण महत पार्टीभित्रै पनि चुनाव जित्न नसक्ने व्यक्ति भएको आरोप लगाए। “व्यक्तिगत रूपमा मेरो कुनै दुस्मनी छैन, बाटोमा भेटे हात मिलाउँछु,” उनले भने, “तर उहाँको राजनीतिक शैली र जनसम्बन्धका आधारमा यो चुनाव जित्न सक्ने अवस्था छैन।”
उनले कांग्रेसभित्रको आन्तरिक द्वन्द्वले समेत प्रतिस्पर्धालाई असर गर्ने दाबी गरे। “कांग्रेसभित्र यति ठूलो संघर्ष छ कि त्यसको चर्चा यहाँ गरिरहनु परेन,” उनले संकेत गरे।
आफ्नो दलको संगठनात्मक पकड र अघिल्लो कार्यकालका कामलाई आधार मान्दै तामाङले नुवाकोट–१ मा आफूहरूको जित ‘पहिल्यै सुनिश्चित’ भइसकेको जिकिर गरे। “हामीले जितिसकेका छौँ, यो मतदातालाई आकर्षित गर्न भनेको होइन,” उनले भने।
स्थानीय तहको निर्वाचन परिणाम प्रस्तुत गर्दै उनले सात पालिकामध्ये तीन पालिकामा अध्यक्ष र उपाध्यक्ष, तथा सात उपाध्यक्षमध्ये पाँच उपाध्यक्ष आफ्नो दलले जितेको दाबी गरे। ४५ वडामध्ये १९ वडामा नेकपाको जित भएको, कांग्रेसले १८ र एमालेले ८ वडामा अध्यक्ष जितेको उनले स्मरण गराए। “एमालेले अध्यक्ष–उपाध्यक्ष कतै जितेको छैन,” उनले थपे।
अघिल्लो निर्वाचनमा गठबन्धनको समीकरणका कारण अपेक्षाअनुसार परिणाम नआएको उनको तर्क थियो। २०७९ को चुनावमा कांग्रेसको मत विभाजित भएको उल्लेख गर्दै उनले केही मतदाता मतदानमा नजाने, केहीले अन्य उम्मेदवारलाई सघाउने र केहीले वैकल्पिक दल रोज्ने अवस्थाले आफूहरूलाई फाइदा पुगेको दाबी गरे।
नुवाकोट–१ मा यसपटकको प्रतिस्पर्धा केवल दुई उम्मेदवारबीचको भिडन्त मात्र नभई दलभित्रको समीकरण, अघिल्लो कार्यकालको मूल्यांकन र मतदाताको मनोविज्ञानको परीक्षा पनि बनेको छ। चुनावी मैदानमा दुवै पक्ष आ–आफ्नो जितको दाबी गरिरहेका बेला अन्तिम निर्णय भने मतपेटिकाले नै गर्नेछ।

