नुवाकोटका दुई निर्वाचन क्षेत्रका ८८ वडामा मतदाता शिक्षा अभियान सुरु



नुवाकोट,फागुन ३ । जिल्लाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत १२ स्थानीय तहका ८८ वडामा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। आसन्न निर्वाचनलाई लक्षित गर्दै घरदैलोमै पुगेर मतदातालाई मतदान प्रक्रिया सिकाउने अभियान थालिएको हो।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी होमबहादुर रानामगरका अनुसार कार्यक्रम फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। प्रत्येक वडामा एकजना स्वयंसेवक परिचालन गरिएको छ।

स्वयंसेवकहरू मतदाताको घरआँगनमै पुगेर सही तरिकाले मत हाल्ने विधि, मतपत्र प्रयोग गर्ने प्रक्रिया तथा मताधिकारको महत्वबारे जानकारी दिइरहेका छन्। मतदानमा बदर मत कम गर्ने र सचेत सहभागिता बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।

यस अभियानलाई निर्वाचन आयोग नेपालले देशव्यापी रूपमा अघि बढाएको हो। आयोगका अनुसार देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ।

मतदाता शिक्षा कार्यक्रमले नागरिकलाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिँदै स्वच्छ, निष्पक्ष र प्रभावकारी निर्वाचनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्