नुवाकोटमा नेकपामा पहिरो, निर्वाचित वडाध्यक्षसहित दर्जनौं एमाले प्रवेश



नुवाकोट, फागुन ३ – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ। निर्वाचित वडाध्यक्ष सीताराम तामाङले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।

तामाङले करिब पाँच सयभन्दा बढी समर्थक तथा कार्यकर्तासहित एमाले प्रवेश गर्ने घोषणा गरेका छन्। “काम गर्न सक्ने र स्पष्ट भिजन भएका नेता बद्री मैनाली नै हुनुहुन्छ,” भन्दै उनले नेकपा छाडेर एमाले रोजेको बताएका छन्।

तत्कालीन माओवादी तथा नेकपाले विगत दुई पटकसम्म चुनाव जित्दा पनि नुवाकोटमा उल्लेखनीय काम हुन नसकेको भन्दै उनले आत्मग्लानि व्यक्त गरे। अबको निर्वाचनमा नुवाकोट–१ का एमाले उम्मेदवार बद्री मैनालीलाई जिताउने प्रतिबद्धतासहित आफू एमाले प्रवेश गरेको तामाङले बताए। “बद्री मैनाली दुई तिहाइ मतले जित्नुहुन्छ। त्यो आधार देखेर म बहालवाला वडाध्यक्षसमेत एमाले प्रवेश गरेको हुँ,” तामाङले भने, “उहाँ जित्नु भनेको नुवाकोटका जनता जित्नु हो।”

एमाले प्रवेश कार्यक्रममा मैनालीले पार्टीको झण्डा र चुनाव चिह्न हस्तान्तरण गर्दै तामाङलाई स्वागत गरेका थिए। तामाङसँगै दुप्चेश्वरबाट जेनजी पुस्ताका राजेश तामाङ पनि एमालेमा प्रवेश गरेका छन्।मैनालीलाई साथ दिन विभिन्न दल परित्याग गर्नेहरूको संख्या हजार नाघेको दाबी एमालेले गरेको छ। यसअघि पनि नेपाली कांग्रेस र नेकपाबाट सयौँ कार्यकर्ता एमाले प्रवेश गरेको जनाइएको छ। ककनी गाउँपालिकामा आयोजित ‘जेनजी प्रोटेस्ट’मा सहभागी युवाहरूले नुवाकोटको विकासका लागि एमाले नै स्पष्ट दृष्टिकोण भएको पार्टी भएको उल्लेख गर्दै समर्थन जनाएका थिए।

एमाले प्रवेश गरेका तामाङले दुप्चेश्वर क्षेत्रमा एमालेलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्