रामेछाप बस दुर्घटना : बेपत्ताको खोजी तीव्र
मन्थली,फागुन ४– मंगलबार रामेछापमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजी कार्य तीव्र पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोलीले दुर्घटनास्थल आसपास तामाकोशी र सुनकोशी नदीका विभिन्न भागमा खोजी अभियान जारी राखेका छन्।
काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा प्र ००१–०५ख ९९७५ नम्बरको अरनिको यातायात सेवा प्रालिको बस मन्थली नगरपालिका–६ स्थित त्रिवेणी पुल नजिक सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खसेको थियो। दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आठजना घाइते भएका छन्। तीनजना अझै बेपत्ता छन्।बेपत्ता हुनेमा मन्थली नगरपालिका–२ पिप्लेका ९ वर्षीय वक्रिचन तामाङ, लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका ८ वर्षीय रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले बेपत्ता यात्रुको खोजी कार्य तीव्र रूपमा भइरहेको जानकारी दिएका छन्। नदीको बहाव र गहिराइलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सम्भावित स्थानमा खोजी जारी राखेको जनाइएको छ।

