सब–इन्जिनीयरको गोली हानी हत्या



मलङ्गवा, फागुन ४ – सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आइतबार साँझ सब–इन्जिनीयरको गोली हानी हत्या गरिएको छ।पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहाको सुखीपुर नगरपालिका निवासी सब–इन्जिनीयर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार अज्ञात व्यक्तिले यादवको छातीमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएको थियो। अस्पताल पुग्नेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

मृतक यादव मलङ्गवा–१० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए। घटनापछि सुरक्षा सतर्कता बढाइएको छ। घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस्