नुवाकोटका कांग्रेस–एमालेका कार्यकर्ता नेकपामा प्रवेश



नुवाकोट, फागुन ४ – दुप्चेश्वर–काठमाडौं निर्वाचन परिचालन समितिको बैठक तथा मतदाता भेटघाट कार्यक्रमका अवसरमा विभिन्न दल परित्याग गरी नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

आइतबार बिहान आयोजित कार्यक्रममा दुप्चेश्वर गाउँपालिका वडा नं. २ की नेपाली कांग्रेसकी महिला नेतृ सरिता तामाङ, वडा नं. ४ का नेकपा एमालेका युवा नेता विना तामाङ, वडा नं. १ का सुनबहादुर तामाङ, सोही वडाकी सुना तामाङ, दिपक तामाङ (नरेन्द्र) तथा वडा नं. २ का सम्राट तामाङलगायत नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्।

कार्यक्रममा नवप्रवेशीहरूलाई पार्टीका नेता एवम् प्रतिनिधि सभा नुवाकोट क्षेत्र नम्बर १ नेकपाका उम्मेदवार हितबहादुर तामाङले स्वागत गर्दै बधाई दिएका थिए। प्रवेश गरेका नेताहरूले पार्टीको विचार र आगामी निर्वाचनमा साझा लक्ष्यसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटमा दल परिवर्तन र प्रवेश कार्यक्रम तीव्र बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्