काठमाडौं महानगरमा विदेशी चलखेल थियो : बालेन्द्र शाह
झापा,फागुन ४– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले आफू मेयर रहँदा महानगरमा विदेशी चलखेल र हस्तक्षेप भएको दाबी गर्नुभएको छ।
झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका शाहले सोमबार बिहान दमकमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै राजधानीको मेयर पद प्रधानमन्त्रीभन्दा कम हैसियतको नहुने उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायको प्रभाव महानगरमा अत्यधिक रहेको बताउनुभयो।
घरदैलोका क्रममा एक मतदाताले अन्तर्राष्ट्रिय चलखेलबारे प्रश्न गरेपछि शाहले त्यो विषय आफूले प्रत्यक्ष भोगेको प्रतिक्रिया दिनुभयो। “काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल कति भएको थियो, त्यो तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न,” उहाँले भन्नुभयो। तर कसरी र कसको संलग्नता थियो भन्नेबारे उहाँले खुलाउनुभएन।
फोहोर व्यवस्थापनका विषयमा समेत बाह्य हस्तक्षेप रहेको उहाँको दाबी छ। महानगरको फोहोर व्यवस्थापन प्रक्रियामा धेरै हस्तक्षेप भएको र त्यसबारे धेरैलाई जानकारी भएको उहाँले उल्लेख गर्नुभयो।
पछिल्लो समय अन्तर्राष्ट्रिय प्रभाव झन् बढेको र यसपटकको निर्वाचनमा पनि त्यसको असर देखिएको भन्दै मतदाताबाट गुनासा आउने गरेको शाहले बताउनुभयो। रास्वपाले शाहलाई निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्ताव गरिसकेको छ।

