‘लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्छ’ — डाक्टर  महत



नुवाकोट,फागुन ४– जिल्लाको बेलकोटगढीको फाँटापौवाको खुला फाँट सोमबार दिउँसो राजनीतिक नाराले गुञ्जायमान भयो। झण्डा, ब्यानर र नारासहित आयोजित संयुक्त चुनावी सभामा स्थानीयको उल्लेख्य सहभागिता देखिन्थ्यो।

मञ्चमा उभिएर सम्बोधन गर्दै नुवाकोट क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महतले लोकतन्त्र सुदृढीकरणका लागि नेपाली कांग्रेसलाई राष्ट्रिय राजनीतिमा ठूलो शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए।

“लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस आवश्यक छ,” उनले भने, “त्यसैले कांग्रेस राष्ट्रिय दलका रूपमा अझ सशक्त हुन जरुरी छ।”उनले कतिपयले कांग्रेसलाई ‘पुरानो पार्टी’ भन्दै आलोचना गर्ने गरे पनि इतिहास र योगदानलाई बेवास्ता गरिएको टिप्पणी गरे। “नयाँ पार्टीहरू नेपालमा धेरै आए र गए, तर टिक्न गाह्रो छ,” उनले भने, “कांग्रेस ३० वर्षे पञ्चायत, माओवादी द्वन्द्व, भूकम्प र कोभिडजस्ता कठिन समय पार गरेर आएको पार्टी हो।”

उनका अनुसार व्यवस्थापनमा चुनौती आउन सक्छ, तर निर्वाचनको समयमा कांग्रेस एकजुट भएर उभिने परम्परा छ। “नुवाकोटमा हामी एक हौँ। दुवै क्षेत्र जित्छौँ,” उनले कार्यकर्तालाई उत्साहित बनाउँदै भने, “जित्नका लागि कसैले दुई मत नराख्नुस्।”

सामाजिक सञ्जालमा हुने प्रचारबाजीप्रति संकेत गर्दै उनले कांग्रेस ‘वास्तविकतामा रमाउने पार्टी’ भएको दाबी गरे। “हामीले कहिल्यै भ्रम फैलाउने राजनीति गरेका छैनौँ,” उनको भनाइ थियो।

सभामा नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार जगदीश नरसिंह केसी, कांग्रेस नेता अर्जुननरसिंह केसी तथा बहादुरसिंह लामालगायत नेताहरूको उपस्थिति थियो।

फाँटापौवाको उक्त सभा आगामी निर्वाचनका लागि कांग्रेसको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। स्थानीय नेताहरूले नुवाकोटमा दुवै क्षेत्र जित्ने दाबी दोहोर्‍याउँदै चुनावी अभियानलाई थप तीव्र बनाउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्