नुवाकोटको भैरवी मन्दिरबाट डा. अच्युतम लामिछानेको चुनावी अभियान सुरु
नुवाकोट,फागुन ४– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार डा. अच्युतम लामिछानेले आफ्नो चुनावी अभियान भैरवी मन्दिरबाट सुरु गरेका छन्।
खेलकुद विशेषज्ञसमेत रहेका लामिछानेले नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेलको उपस्थितिमा मन्दिर पुगेर पूजा–अर्चना गर्दै औपचारिक रूपमा घरदैलो कार्यक्रम प्रारम्भ गरेका हुन्।
कार्यक्रमका क्रममा उनले आफ्नो उम्मेदवारीको वाचा पत्र पनि सार्वजनिक गरेका थिए। नुवाकोटको समग्र विकासका लागि तथ्यमा आधारित सोच, अनुसन्धानमुखी दृष्टिकोण र व्यवहारिक योजना आफ्नो प्रमुख शक्ति रहने उनले बताएका छन्।
लामिछानेले पारदर्शिता, सुशासन र दीर्घकालीन विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा नुवाकोटमा उम्मेदवारहरू आ–आफ्नो कार्यक्रमसहित मतदातामाझ सक्रिय बन्दै गएका छन्।

