रामेछाप बस दुर्घटना : बेपत्ता ९ वर्षीय कृचन तामाङको शव फेला, मृतक संख्या १३ पुग्यो
रामेछाप,फागुन ४– मन्थली नगरपालिका वडा नं. ६ मसानटार नजिक गत मंगलबार भएको बस दुर्घटनामा बेपत्ता भएका ९ वर्षीय कृचन तामाङको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनापछि बेपत्ता रहेका मन्थली नगरपालिका–२ का कृचनको शव आज खुर्कोट नजिक सुनकोसी नदीमा भेटिएको हो। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त खोजी अभियानका क्रममा नदी किनारमा शव फेला परेको कार्यालयका प्रमुख भोला भट्टले जानकारी दिनुभयो।
गत मंगलबार मसानटार क्षेत्रमा भएको उक्त बस दुर्घटनामा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो भने तीन जना नदीमा बेपत्ता भएका थिए। बेपत्तामध्ये एक जनाको शव फेला परेसँगै मृतक संख्या १३ पुगेको प्रहरीले जनाएको छ। अझै दुई जना नदीमा बेपत्ता रहेको र खोजी कार्य जारी रहेको बताइएको छ।
शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयवासीमा अझै शोकको वातावरण कायम छ।
दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लिखु तामाकोशी गाउँपालिकाले सोमबार एक दिन सार्वजनिक बिदा दिएको गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारीदिनुभयो ।

