नेकपा नुवाकोट १ को ४५ वटै वडामा एकसाथ घरदैलो, ‘विधि र अनुशासनमै हाम्रो प्रतिबद्धता’ : हितबहादुर तामाङ
नुवाकोट,फागुन ४ – आगामी निर्वाचन नजिकिँदै जाँदा नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल तातेको छ। यही क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले क्षेत्रका सबै ४५ वटै वडामा एकैसाथ घरदैलो अभियान सुरु गरेको छ।
दुप्चेश्वरबाट अभियानको शुभारम्भ गर्दै नेकपाका केन्द्रीय सदस्य तथा उम्मेदवार हितबहादुर तामाङले आफ्नो पार्टी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै अघि बढेको बताउनुभयो। “हामीले निर्वाचन आयोगले तोकेको समयसीमा सम्मान गरेका छौँ। अरूले उल्लंघन गरे पनि हामीले विधि र अनुशासनलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुभयो।
बिहानैदेखि नेता–कार्यकर्ता झण्डा र चुनाव चिह्नसहित मतदाताको घरआँगनमा पुगेपछि गाउँदेखि नगरसम्म चुनावी रौनक बढेको छ। बागमती प्रदेश सभासदस्य राधिका तामाङका अनुसार घरदैलोको उद्देश्य विकासका एजेन्डा प्रस्तुत गर्नु, अधुरा योजना पूरा गर्ने प्रतिबद्धता जनाउनु र जनताका समस्या प्रत्यक्ष सुन्नु हो।
घरदैलोका क्रममा सडक, कृषि आधुनिकीकरण र स्वास्थ्य सेवा सुधार मतदाताको प्रमुख मागका रूपमा देखिएका छन्। नेकपाले क्षेत्रका सबै वडामा टोली परिचालन गरी अभियानलाई निरन्तरता दिने जनाएको छ।

