कांग्रेसले देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ- उपसभापति शर्मा



काठमाडौं,फागुन ४ । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् ।

चुनावी प्रचारको पहिलो दिन लमजुङको जिल्ला कार्यालय उद्घाटनपछि शर्माले सत्तामा एउटै व्यक्तिले निरन्तर आसन जमाउने परम्परा तोड्न कांग्रेसले १, २, ३, ४ को नीति लिएको बताए ।

“बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ,” शर्माले भने, “कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १, २, ३, ४ को नीति संविधानमा अंकित गर्नेछौँ । अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुईपटकभन्दा बढी रहन पाउने छैनन् ।”

कांग्रेसले विशेष महाधिवेशनबाट एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटकसम्म मन्त्री र चारपटकसम्म मात्र सांसद बन्न पाउने नीति पारित गरेको छ । चुनावी मैदानमा जस्तोसुकै आश्वासन दिने परम्पराले जनतामा निराशा बढाएको शर्माको भनाइ छ । सम्भव विषय मात्र राख्न उमेदवारलाई उनले आग्रह गरे ।

“चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणापत्रहरूमार्फत नगरौँ,” शर्माले भने । कांग्रेसले शासकीय सुधारका केस्रा-केस्रा केलाएको भन्दै आवश्यक सुधारका खाका पनि तयार भएको उनले बताए । विगतका ककमजोरी स्वीकार गर्दै सुधारेर लान कांग्रेस सुधारिएर आएको उनको भनाइ छ ।

“देशको शासनमा जेजस्तो सुधार गर्न जरुरी छ, त्यसको केस्राकेस्रा केलाएका छौँ हामीले । जेनजी विद्रोहको भावनाबमोजीम त्यो सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई हामी सम्भव बनाउनेछौँ,” शर्माले भने, “देश जान्दछ कांग्रेस बदलिएको छ र यो पनि देश जान्दछ– जो बदलिन सक्छ उसैले बदल्न सक्छ ।”

शर्माले कांग्रेस लमजुङले निर्माण गरेको बीपी कोइरालाको शालिक पनि अनावरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्