महाशिवरात्रिपछि नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिँदै



काठमाडौँ,फागुन ५ – महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ। परम्पराअनुसार फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गरिँदै आएको छ। यो कार्यक्रम गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन्।

संस्थानका पूर्वउपप्रशासक दीपकबहादुर पाण्डेका अनुसार विसं १८३१ मा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गर्ने परम्परा सुरु भएको हो। यस वर्ष बिदाइ कार्यक्रमका लागि संस्थानले करिब ३० लाख रुपैयाँ बजेट छुट्याएको जनाएको छ। रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड वितरण गरी स्तरअनुसार दक्षिणा दिने व्यवस्था मिलाइएको छ। नेपाल बाहिरबाट आएका साधुसन्तलाई सीमासम्म पुग्न सहज होस् भनी दक्षिणा रकम बढाइएको पनि संस्थानले जनाएको छ।

पशुपति परिसरका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा लगायत स्थानमा करिब चार हजारभन्दा बढी साधुसन्त बसेका छन्। कोषका कोषाध्यक्ष श्रीधर सापकोटाका अनुसार प्रत्येक स्थानमा फरक–फरक सम्प्रदायका साधु रहेका छन्।

पहिले थापाथलीस्थित कालमोचनघाटबाट साधुसन्तलाई बिदाइ गरिने परम्परा रहे पनि हाल पशुपतिको पश्चिम मूलढोकाबाट बिदाइ गर्न थालिएको छ। थापाथली कालमोचनघाटमा रहेका वैरागी, उदासी, सन्यासी र नाथ अखडामा बसेका साधुसन्तलाई भने आजै कालमोचनघाटबाटै बिदाइ गरिने जनाइएको छ।

कोषले यस वर्ष पाँच हजार एक रुपैयाँदेखि १०१ रुपैयाँसम्म दक्षिणा दिने तयारी गरेको जनाएको छ। साधुसन्त सेवा तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति संयोजक शिला पन्तका अनुसार विभिन्न समूहका साधुलाई स्तरअनुसार दक्षिणा प्रदान गरिनेछ। यसका लागि करिब आठ लाख रुपैयाँ बजेट छुट्याइएको छ। साथै वर्षभर चढाइएका रुद्राक्ष पहिराएर बिदाइ गरिने तयारी गरिएको छ। धुनीका लागि करिब ५० हजार किलो दाउरा खरिद गरिएको पनि जनाइएको छ।

भेटीघाटी पारदर्शी बनाउने उद्देश्यले २०६८ चैत २६ देखि लागू गरिएको नियमावलीपछि कोषले भेटी व्यवस्थापन गर्दै आएको छ। कोषका अनुसार हालसम्म भेटी बाकसमा जम्मा भएको रकम १५ करोड रुपैयाँ पुगेको छ।

यसैबीच, शिवरात्रिपछि पशुपति क्षेत्रमा फोहरको थुप्रो देखिएको भन्दै स्थानीयवासीले व्यवस्थापनप्रति गुनासो गरेका छन्। कोषका सदस्य सचिव डा. टण्डनले लाखौँ भक्तजनको आगमनका कारण फोहर बढेको उल्लेख गर्दै सफाइ कार्य सुरु भइसकेकाले चाँडै पूर्ण रूपमा व्यवस्थापन हुने बताउनुभयो।

नागा बाबा हेर्नेको घुइँचो

शिवरात्रिका लागि नागा बाबाको आगमन भएसँगै फागुन कृष्ण एकादशीदेखि नै पशुपति क्षेत्रमा हेर्न आउनेको घुइँचो लागेको थियो। विद्यार्थी तथा सर्वसाधारण उल्लेख्य सङ्ख्यामा नागा बाबाको दर्शनका लागि पुगेका थिए। भारतको वनारसबाट आएका सन्त स्वामी महेशानन्दले पशुपतिनाथलाई विशेष धार्मिक महत्वका कारण प्रत्येक वर्ष दर्शन गर्न आउने गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्