पश्चिमी वायुको सामान्य प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौँ,फागुन ५ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार मङ्गलबार दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्ने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति तराईका केही स्थानमा तुँवालो लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्