लहान–१३ मा उखुमा आगलागी, एक करोडभन्दा बढी क्षति
सिराहा,फागुन ५ – लहान नगरपालिका–१३ घले टोलका किसानले लगाएको उखुमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। सोमबार दिउँसो करिब १२ बजेतिर सरस्वती र घले टोल जाने कच्ची बाटोको पश्चिम किनारस्थित खेतबाट आगो सुरु भएको बताइएको छ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार आगो नियन्त्रणमा लिन ढिलाइ हुँदा १५ जना किसानको करिब १५ बिघा खेतमा लगाइएको उखु जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार करिब एक करोड १६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। लहान नगरपालिकाबाट २० मिनेटमै दमकल पुग्न सक्ने दूरी भए पनि लहान नगरपालिकाको दमकल बिग्रिएको अवस्थामा रहेकाले गोलबजार नगरपालिकाबाट आएको दमकल घटनास्थलमा पुग्न एक घण्टाभन्दा बढी समय लागेको थियो।
उखु भित्र्याउने समयमा भएको आगलागीबाट ठूलो क्षति व्यहोर्नुपरेको भन्दै किसान रामलखन मण्डलले राहत उपलब्ध गराउन स्थानीय सरकारसँग माग गर्नुभएको छ। स्थानीय सुभकलाल यादवका अनुसार लहान नगरपालिकामा दुई वटा दमकल हुनुपर्नेमा रहेको एउटै दमकल पनि मर्मत नभएकाले पछिल्ला वर्षहरूमा आगलागी हुँदा गोलबजार नगरपालिकाकै दमकलको भर पर्नुपरेको छ।
कृषक महासङ्घका केन्द्रीय सदस्य रामनारायण महतोले क्षतिपूर्ति दिलाउन हिमाल चिनी मिलसँग समन्वय गरी स्थलगत अनुगमन सुरु गरिएको जानकारी दिनुभयो। लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले प्रभावित किसानलाई राहत उपलब्ध गराउन सक्दो सहयोग गर्ने र आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रहरीका अनुसार रामलखन मण्डल, विसुनदेव यादव, रामदयाल मण्डल, कारी मण्डल, रामविहारी मण्डललगायत १५ जना किसानको खेतमा लगाइएको उखु जलेर नष्ट भएको छ।

