शङ्कास्पद वस्तु राख्दा तीन घण्टा राजमार्ग अवरुद्ध



झापा,फागुन ५– शिवसताक्षी नगरपालिका–१०स्थित कनकाई माई पुलमा अज्ञात समूहले समाजलाई आतङ्कित पार्ने उद्देश्यले शङ्कास्पद वस्तु राख्दा पूर्व–पश्चिम राजमार्ग करिब तीन घण्टा अवरुद्ध भएको छ ।मङ्गलबार बिहान करिब ३ बजे पुलको बीच भागमा ‘नेपाल बन्द, होसियार’ लेखिएको कागज बमजस्तो आकृतिमा राखिएको अवस्थामा फेला परेको थियो। निर्वाचन सुरक्षाका लागि खटिएको गस्ती टोलीले उक्त वस्तु देखेपछि बिहान ३ बजेदेखि ६ः३० बजेसम्म सडक अवरुद्ध गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शङ्कास्पद वस्तु निष्क्रिय पार्न अरिदल गण चारआलीको सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो। जाँचका क्रममा कागजभित्र पराल हालेर बमजस्तै आकृति बनाइएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त कार्य निर्वाचनलाई लक्षित गरी सर्वसाधारणलाई त्रसित पार्ने उद्देश्यले गरिएको प्रारम्भिक अनुमान गर्दै संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको जनाएको छ।

यसअघि पनि सोही कनकाई माई पुलमा प्रेसर कुकरभित्र बारुद र काटी राखिएको वस्तु फेला परेको थियो। सो घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्