सिलिन्डर बम विस्फोट, निर्वाचनपूर्व स्थानीय त्रसित



दाङ,फागुन ५– दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराएको छ। प्रहरीका अनुसार वडा नं. ६ र वडा नं. ८ को सीमाक्षेत्र पातुखोलामा विस्फोट भएको हो।

तुलसीपुर अटोभिलेजदेखि तलतिर गाइपालन फर्मको पश्चिमतर्फ रहेको पातुखोलामा भएको विस्फोटपछि घटनास्थलमा सिलिन्डरका टुक्रा फेला परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता विनोदराज खत्रीले प्रहरी टोली घटनास्थलमा पुगिसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहराले विस्फोटको आवाज आएलगत्तै प्रहरी परिचालन गरिएको र घटनाबारे अनुसन्धान सुरु गरिएको बताउनुभयो। घटनामा मानवीय वा भौतिक क्षति भने नभएको जनाइएको छ।

निर्वाचनको मिति नजिकिँदै गर्दा अज्ञात समूहले सर्वसाधारणलाई त्रसित पार्ने उद्देश्यले विस्फोट गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यसैबीच नेकपा बहुमतले आज नेपाल बन्दको आह्वान गरेको सन्दर्भमा विस्फोटको घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्