पाँचखालमा टिपर चालक चेकजाँच गर्दा पाँच जना लागू पदार्थ सेवन गरेर सवारी चलाउँदै भेटिए
काभ्रे,फागुन ५ – काभ्रे ट्राफिक प्रहरीले सवारी चालकले लागू पदार्थ सेवन गरेर सवारी चलाएको पाइएको जनाएको छ। सोमबार राति सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पाँचखाल क्षेत्रमा सञ्चालन गरिएको विशेष चेकजाँचका क्रममा यस्तो तथ्य फेला परेको हो।
ट्राफिक प्रहरी सहायक निरीक्षक महेश्वर अधिकारीका अनुसार रात्रिकालीन समयमा सञ्चालन हुने २५ वटा टिपरका चालकलाई जाँच गर्दा पाँच जनाले लागू पदार्थ सेवन गरी सवारी चलाएको पाइएको छ।
ती चालकलाई थप आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक (धुलिखेल) पठाइएको उनले जानकारी दिए।ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि रातिको समयमा भारी सवारीसाधनलाई लक्षित गरी नियमित रूपमा निगरानी र चेकजाँच अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

