काठमाडौँ महानगरको स्वास्थ्य सर्वेक्षणमा ११ ज्येष्ठ नागरिकलाई तत्काल अस्पताल लैजानुपर्ने अवस्था



काठमाडौँ,फागुन ५ – काठमाडौँ महानगरपालिकाले ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सम्बन्धी सर्वेक्षण गर्दा ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने अवस्था पाइएको जनाएको छ।गत माघ १८ गतेदेखि सुरु गरिएको सर्वेक्षणअन्तर्गत हालसम्म ४५२ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा तथ्य सङ्कलन गरिएको छ। कार्यक्रमकी ‘फोकल पर्सन’ तथा अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठका अनुसार २०८ जनालाई नियमित निगरानी आवश्यक देखिएको छ।

सर्वेक्षण ८४ प्रश्नावलीका आधारमा गरिएको हो। सङ्कलित तथ्याङ्कअनुसार ८२ जना ज्येष्ठ नागरिक कमजोर आर्थिक अवस्थाका कारण औषधोपचार गर्न कठिनाइमा रहेका छन् भने १९२ जना बीमा नगरिएका भेटिएका छन्।

सर्वेक्षणमा समेटिएका ३०२ महिला र १५० पुरुष गरी ४५२ ज्येष्ठ नागरिकमध्ये ४२३ जना परिवारसँगै बस्दै आएका छन्। स्वास्थ्य अवस्थाका आधारमा उनीहरूलाई हरियो, पहेँलो र रातो ‘जोन’मा वर्गीकरण गरिएको छ। हरियो जोनमा रहेका ज्येष्ठ नागरिक सुरक्षित अवस्थामा रहेका छन् भने पहेँलो जोनमा रहेका व्यक्तिलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको नियमित निगरानी आवश्यक पर्ने बताइएको छ। रातो जोनमा परेका ११ जनालाई तत्काल नजिकको स्वास्थ्य संस्थामा ‘रेफर’ गर्ने प्रक्रिया थालिएको महानगरपालिकाले जनाएको छ।

सर्वेक्षणका क्रममा शारीरिक तथा मानसिक स्वास्थ्य, पारिवारिक र सामाजिक अवस्था, नियमित सेवन गर्ने औषधि, औषधि सेवन तालिका तथा तौलमा आएको परिवर्तनलगायतका विषय समेटिएका छन्। सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरी घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

सत्तरी वर्षमाथिका स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी घरमै सेवा उपलब्ध गराउने लक्ष्यसहित महानगरपालिकाले उपचार र सर्वेक्षण कार्यक्रम अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्