फागुन २१ को निर्वाचनका लागि सबै मतपत्र छपाइ सम्पन्न, १० दिनभित्र जिल्लामा पठाइने



भक्तपुर,फागुन ५ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निर्वाचन आयोगले दिएको जिम्मेवारीअनुसार सोमबार साँझ छपाइ कार्य सम्पन्न गरेको जनाएको छ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ ४० दिनमै सकिएको हो। “४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरेका थियौँ, तर ४० दिनमै सम्पन्न गर्न सफल भयौँ। अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउँछौँ,” उनले बताए।

केन्द्रले दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छपाइ गर्दै आएको थियो। यसअघि १० लाख नमूना मतपत्र छपाइ गरी आयोगमार्फत विभिन्न स्थानमा पठाइसकिएको छ। साथै समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ।

प्रबन्ध निर्देशक पौडेलका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको छ भने बाँकी प्रदेशमा पनि १० दिनभित्र ढुवानी सम्पन्न गर्ने तयारी गरिएको छ। छपाइ सम्पन्न भएसँगै आजदेखि मतपत्र ‘प्याकेजिङ’ गरी सम्बन्धित प्रदेशमा ढुवानी गरिनेछ।

प्रतिक्रिया दिनुहोस्