रामेछाप बस दुर्घटना : अर्का बेपत्ता युवकको शव फेला, एक बालक अझै बेपत्ता
रामेछाप,फागुन ५ – गत मंगलबार भएको बस दुर्घटनामा बेपत्ता रहेका एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय बिशाल सुनुवारको शव दुर्घटनास्थलबाट करिब १०० मिटर तल सुनकोशी र तामाकोसी नदीको संगमस्थलमा भेटिएको हो।
यसअघि सोही दुर्घटनामा मन्थली नगरपालिका–२ का क्रियन तामाङको शव सोमबार फेला परेको थियो। दुर्घटनामा परी १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई बालकसहित तीन जना बेपत्ता भएका थिए। पछिल्ला दुई दिनमा दुई जनाको शव फेला परेसँगै मृतकको संख्या १४ पुगेको छ।
लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका ८ वर्षीय रोनिश तामाङ भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त टोलीले खोजी कार्य जारी राखेको रामेछापका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजन प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो।
शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ।

