टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



मकवानपुर,फागुन ५ – हेटौँडा उपमहानगरपालिका–१९ सान्नानटारस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु.३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नम्बरको टिप्परले मंगलबार दिउँसो ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक रुपन्देहीका २८ वर्षीय जगदीश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौँडास्थित अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको पुष्कर बोगटी, प्रहरी नायब उपरीक्षक, ले जानकारी दिनुभयो।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार दाङको राप्ती गाउँपालिका–६ का २२ वर्षीय आदित्य चौधरी घाइते भएका छन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

ठक्कर दिने टिप्पर र चालक हेटौँडा–१५ भोर्लेका २६ वर्षीय रोहित तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्