वैशाख १४ देखि कक्षा १२ को परीक्षा सुरु, तीन लाख ६० हजार विद्यार्थी सहभागी हुने



काठमाडौँ,फागुन ६ – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले साधारण, परम्परागत र प्राविधिक विषय समूहअन्तर्गत नयाँ तथा पुरानो पाठ्यक्रम र ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो।

परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ र पुरानो पाठ्यक्रम तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ। सोही दिन नयाँ पाठ्यक्रमअन्तर्गत संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो पाठ्यक्रमअन्तर्गत अनिवार्य वैकल्पिक संस्कृत रचनाको परीक्षा पनि सञ्चालन गरिने तालिकामा उल्लेख छ।

परीक्षा वैशाख २७ गते सम्पन्न हुनेछ। बोर्डका अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को परीक्षा व्यवस्था गरिने छैन। तालिकाभित्र आकस्मिक बिदा परेमा पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्वसूचना बिना परीक्षा स्थगित नहुने जनाइएको छ।

यस वर्ष कक्षा १२ मा नियमिततर्फ तीन लाख ६० हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ। गत वर्ष नियमिततर्फ तीन लाख ९६ हजार ३४७ र आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी भएका थिए। अघिल्लो वर्ष कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु भई जेठ २ गते सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्