बनेपामा अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा, दुर्घटनामा एकको मृत्यु
काभ्रे,फागुन ६– टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्गअन्तर्गत बनेपा खण्ड पुनः सञ्चालनमा आएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो।
बनेपास्थित दूरसञ्चार कार्यालय नजिकै आज बिहान भएको दुर्घटनामा धुलिखेल नगरपालिका–५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो। बागमती प्रदेश ०१–००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि आक्रोशित स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका थिए भने ठक्कर दिने टिपरमा आगजनीसमेत गरेका छन्। घटनापछि बनेपा क्षेत्र केही समय तनावग्रस्त बनेको थियो।
प्रहरीले स्थिति नियन्त्रणमा लिई यातायात सुचारु गराएको जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

