सुदूरपश्चिममा बालेनको भनाइ: “भोट होइन, काम माग्न आएका हौँ”
धनगढी,फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिममा भोट माग्न नभई काम माग्न आएको बताएका छन्।
बुधबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सुनजस्तै उज्यालो र समृद्ध क्षेत्र बनाउनुपर्ने आवश्यकता औंल्याए। “रास्वपा सुदूरपश्चिममा भोट माग्न आएको होइन, काम माग्न आएको हो,” उनले भने, “तपाईंहरूले मत नदिए पनि रास्वपाले सुदूरपश्चिमलाई बनाउँछ, भोट नदिए पनि काम दिनुहोला।”
नेताहरूले नेपाललाई स्विट्जरल्याण्ड बनाउने प्रतिबद्धता दोहोर्याउँदै आएको उल्लेख गर्दै शाहले सुदूरपश्चिम स्विट्जरल्याण्डभन्दा कम नरहेको दाबी गरे। उनले अब सुदूरपश्चिमलाई देशको मूल प्रवाहसँग जोड्नुपर्ने आवश्यकता रहेको बताए। “सुदूरपश्चिमलाई जोड्नुपर्छ। सुदूरपश्चिमको गीत काठमाडौँका चोक–चोकमा बजेका दिन सुदूरपश्चिम साँच्चिकै जोडिन्छ,” उनले भने।
स्वास्थ्य र पूर्वाधार सुधार रास्वपाको मुख्य एजेण्डा रहेको उल्लेख गर्दै उनले आर्थिक अवस्था कमजोर भएकाले उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था गर्नुपर्ने बताए। “खल्तीमा पैसा नभएको गरिबले पनि उपचार पाउनुपर्छ। दुई वर्षमा बन्नुपर्ने सडक २० वर्षसम्म पनि नबन्ने अवस्था अन्त्य हुनुपर्छ, यो रास्वपाको एजेण्डा हो,” उनले स्पष्ट पारे।

