उम्मेदवारमाथि कुटपिट, एक जना पक्राउ
नवलपरासी,फागुन ६ – पश्चिम नवलपरासीको बर्दघाटमा चुनाव प्रचारका क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार तथा कार्यकर्तामाथि कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार नवलपरासी निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बर्दघाट नगरपालिका–१२ जमुनिया चोकमा प्रचार–प्रसार गरिरहेका बेला आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता बताउने समूहले माओवादीका उम्मेदवार राजु हरिजनसहित केही कार्यकर्तामाथि आक्रमण गरेको थियो।
घटनामा संलग्न तीन जनामध्ये बर्दघाट–१३ धनेवाका ३१ वर्षीय अजय गौतमलाई बुधबार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो। अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।उम्मेदवार हरिजनका अनुसार १०–१२ जनाको समूहले ‘यो घण्टीको क्षेत्र हो’ भन्दै आफूहरूमाथि कुटपिट तथा दुर्व्यवहार गरेको थियो। उनले मादक पदार्थ सेवन गरेका युवाहरूले आक्रमण गरेको आरोप लगाउँदै संलग्नमाथि कडा कारबाहीको माग गरेका छन्। घटनामा स्थानीय नेता गणेश श्रीस, निरज पाठक, नकुल सी लगायत पनि घाइते भएका बताइएको छ।
प्रहरी उपरीक्षक श्रेष्ठले जिल्लाभर उम्मेदवारको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जानकारी दिँदै चुनावी कार्यक्रम गर्नुअघि पूर्व जानकारी गराउन आग्रह गर्नुभयो। शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय प्रतिबद्ध रहेको र उम्मेदवारहरूको सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको उहाँको भनाइ छ।

