कोलोराडोमा ३० भन्दा बढी सवारी ठोक्किँदा ४ जनाको मृत्यु, २९ घाइते
अमेरिका,फागुन ६ । अमेरिकाको कोलोराडो राज्यमा ३० भन्दा बढी सवारीसाधन एकआपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार दुर्घटना बिहान करिब १० बजे भएको हो। घाइतेमध्ये केही सामान्य चोटग्रस्त रहेका छन् भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनास्थलको उत्तरतर्फ मानव क्षति भएको र दक्षिणतर्फ भने मुख्यतः सवारीसाधन तथा सम्पत्तिमा क्षति पुगेको जनाइएको छ।
दुर्घटनामा संलग्न एक पिकअप ट्रकमा रहेका ३२ बाख्रामध्ये चारको मृत्यु भएको छ भने बाँकीलाई सुरक्षित रूपमा उद्धार गरिएको छ। दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, कोलोराडोको पूर्वी क्षेत्रमा आगलागी फैलिन सक्ने जोखिम बढेको छ भने केही हवाई उडानहरू ढिलाइ भएका छन्। राज्यको पश्चिमी भागमा भने हिमपातका कारण केही राहत पुगेको बताइएको छ।

