जनकपुरमा गगन थापाको प्रतिज्ञा : “ठूलालाई चैन, सानालाई ऐन भन्ने अध्याय अब समाप्त”



जनकपुरधाम, फागुन ६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अबको नेपालमा “ठूलालाई चैन र सानालाई ऐन” भन्ने अवस्था अन्त्य हुने बताएका छन्।

जनकपुरधाममा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै उनले आफ्नो मन्तव्यको सुरुवात मैथिली भाषाबाट गरेका थिए। “जतै अपन माटि ततै अपन पार्टी, हम अहाँसभके बात बुझैछि किछ किछ…,” भन्दै उनले स्थानीय भाषा र संस्कृतिप्रति सम्मान व्यक्त गरे। उनले छिट्टै मैथिली भाषामै धाराप्रवाह सम्बोधन गर्ने प्रतिबद्धतासमेत जनाए।

थापाले नेपाली कांग्रेसले घोषणापत्रमार्फत १० वटा प्रतिज्ञा सार्वजनिक गरेको उल्लेख गर्दै त्यसको पालना पार्टीका सबै तहका पदाधिकारीले गर्ने बताए। उनले राजा जनक र शिवधनुषको प्रसंग उल्लेख गर्दै नियम र प्रतिज्ञाको महत्वबारे उदाहरण प्रस्तुत गरे। “त्यो रामको जित होइन, राजा जनकको प्रतिज्ञाको जित थियो,” उनले भने, “म यहाँ बाचा गर्न होइन, प्रतिज्ञा गर्न आएको हुँ।”

उनले पाँच वर्षभित्र सबै कुरा पूरा हुन्छ भन्ने नभए पनि कांग्रेसका आगामी सबै कदम ती लक्ष्य प्राप्तितर्फ केन्द्रित हुने बताए। प्रतिज्ञा पूरा नभए प्रश्न र आलोचना गर्न पाउने अधिकार नागरिकलाई हुने स्पष्ट गर्दै उनले भने, “अब प्रश्न गर्दा कुनै युवकले गोली खानु पर्दैन भन्ने हाम्रो प्रतिज्ञा छ।”

युवापुस्ताको रोजगारी र अवसरसम्बन्धी प्रश्नलाई सम्बोधन गर्दै थापाले जागिर, अवसर र समान कानुनी व्यवहार सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। “कानुन ठूलाका लागि चैन र सानाका लागि ऐन भन्ने अध्याय अब समाप्त भयो,” उनले दोहोर्‍याए।

अघिल्ला सरकारले केही काम गरे पनि अझै धेरै गर्न बाँकी रहेको उल्लेख गर्दै उनले घोषणापत्र लेख्नकै लागि नभई कार्यान्वयनका लागि ल्याइएको दाबी गरे। २७ वटा क्षेत्रका कामलाई परिणाममुखी बनाउने प्रतिबद्धता कांग्रेसले लिएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्