नुवाकोटको लिखुमा शिक्षक भलिबल प्रतियोगिता सम्पन्न, प्रथम नारायणदेवी मावि



नुवाकोट,फागुन ६ – जिल्लाको लिखु गाउँपालिका भित्र सञ्चालनमा रहेका विद्यालयका शिक्षक तथा कर्मचारीबीच आपसी सद्भाव, खेलप्रतिको रुचि अभिवृद्धि र पेशागत क्षमता विकास गर्ने उद्देश्यले “अन्तर विद्यालय स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता–२०८२” सम्पन्न भएको छ।

लिखु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा गाउँपालिकाका विभिन्न विद्यालयका शिक्षक–कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले विजेता टोलीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभयो। प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीलाई क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा नारायणदेवी माध्यमिक विद्यालय प्रथम, सेई बोर्डिङ स्कुल द्वितीय तथा महेन्द्र महेशदेव माध्यमिक विद्यालय (लिखु–६) तृतीय स्थान हासिल गर्न सफल भए। तृतीय स्थानका लागि महेन्द्र महेशदेव माविले क्षेत्रपाल माध्यमिक विद्यालयसँग प्रतिस्पर्धा गरेको थियो।

प्रतियोगिता लिखु–४ स्थित क्षेत्रपाल माध्यमिक विद्यालयको खेलकुद मैदानमा सम्पन्न भएको हो। कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण पक्षप्रति आयोजकले धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्