रसुवा : सानो निर्वाचन क्षेत्र, ठूलो प्रतिस्पर्धा
आचार्य–तामाङको पुरानो भिडन्तबीच लामिछानेको नयाँ चुनौती
रसुवा, फागुन ७ – देशकै कम मतदाता भएका निर्वाचन क्षेत्रमध्ये सातौँ स्थानमा पर्ने रसुवा जिल्लामा मतदाता संख्या कम भए पनि चुनावी प्रतिस्पर्धा भने सधैं चर्को हुने गर्छ। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस हिमाली जिल्लामा ४१ हजार ४७१ मतदाता छन्। उत्तरगया, कालिका, गोसाइकुण्ड, नौकुण्ड र आमाछोदिङ गाउँपालिका गरी पाँच स्थानीय तह समेटिएको रसुवा करिब ८० प्रतिशत तामाङ समुदायको बाहुल्य रहेको क्षेत्र हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यहाँ तीन मुख्य दलबीच रोचक प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेसका तर्फबाट दुई पटक निर्वाचित मोहन आचार्य ‘ह्याट्रिक’ जितको लक्ष्यसहित मैदानमा छन्। नेकपा एमालेका प्रेम तामाङ तेस्रो पटक चुनावी दौडमा छन् भने नेपाल कम्युनिस्ट पार्टीका माधव लामिछाने पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार रसुवामा ९ राजनीतिक दल र ३ स्वतन्त्र गरी १२ जनाको उम्मेदवारी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बसन्त भट्ट युवा उम्मेदवारका रूपमा पहिलो पटक चुनावी मैदानमा छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरे, उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङ, मंगोल नेसनल अर्गनाइजेसनका विनोद थिङ, प्रगतिशील लोकतान्त्रिक पार्टीका दाबासाङ्बो तामाङ र कम्युनिस्ट पार्टी (माओवादी) का होमप्रसाद आचार्यलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।
आचार्यको निरन्तरता कि तामाङको पुनरागमन?
निर्माण व्यवसायी तथा इन्जिनियर पृष्ठभूमिका कांग्रेस उम्मेदवार आचार्य २०७४ र २०७९ मा निर्वाचित भएका थिए। २०७९ मा उनले १८ हजार २३५ मत ल्याउँदै जित निकालेका थिए। २०७४ मा एमाले–माओवादी गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै उनले आफ्नो पकड बलियो बनाएका थिए।
एमालेका तामाङ भने २०६४ मा संविधानसभा सदस्य बनेका थिए। राजनीतिक यात्रामा विभिन्न दल पार गर्दै एमालेमा पुगेका तामाङ यसपटक आचार्यको निरन्तरता रोक्ने प्रयासमा छन्। तर एमालेभित्रको असन्तुष्टि र पुराना विवादले उनको चुनावी यात्रा सहज नहुने आकलन गरिएको छ।
मौका खोज्दै लामिछाने
आचार्य र तामाङबीचको पुरानो प्रतिस्पर्धाबीच नेकपाका उम्मेदवार लामिछाने भने नयाँ समीकरणको खोजीमा छन्। २०७९ को समानुपातिक मतपरिणामअनुसार तत्कालीन माओवादी केन्द्रले ३ हजार ६८६ मत ल्याएको थियो। त्यसमा एकीकृत समाजवादीको मत जोडिँदा लामिछानेका लागि निर्णायक आधार तयार हुन सक्ने विश्लेषण भइरहेको छ।
एमालेभित्रको असन्तुष्ट मत र कांग्रेसबाट केही मत राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ सर्न सक्ने सम्भावनाले मुख्य दुई दलको अंकगणित प्रभावित हुन सक्छ। २०७९ मा रास्वपाले प्रत्यक्षतर्फ मात्र १६५ मत पाएको थियो, तर नयाँ राजनीतिक लहरले केही प्रभाव पार्न सक्ने चर्चा छ।
गठबन्धनबिनाको प्रतिस्पर्धा
अघिल्ला निर्वाचनमा विभिन्न दलबीच तालमेल भए पनि यसपटक प्रमुख दलहरू एक्लाएक्लै मैदानमा उत्रिएका छन्। त्यसैले मत विभाजन र स्थानीय असन्तुष्टिको व्यवस्थापन नै परिणाम निर्धारण गर्ने मुख्य कारक बन्न सक्ने देखिन्छ।
सानो जिल्ला भए पनि राजनीतिक रूपमा संवेदनशील रसुवामा यसपटकको निर्वाचन परिणामले केन्द्रीय राजनीतिमा समेत सन्देश दिने विश्लेषण गरिएको छ। आचार्यको ‘ह्याट्रिक’, तामाङको पुनरागमन कि लामिछानेको ‘सप्राइज’—रसुवाको चुनावी नतिजाले यी तीन सम्भावनामध्ये कुन रोज्छ, त्यो फागुन २१ पछि स्पष्ट हुनेछ।

