देशभर आंशिक बदली, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौँ,फागुन ७ – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। हिमाली क्षेत्रमा सामान्य बदली तथा पहाडी भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहने पूर्वानुमान छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि तराईका केही स्थानमा तुवाँलो रहने सम्भावना छ।कोशी, बागमती र गण्डकी प्रदेशलगायत हिमाली क्षेत्रमा बदली रहनेछ भने मधेस प्रदेश तथा अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

तराई क्षेत्रमा हुस्सु तथा उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले यातायात सञ्चालन, कृषिकर्म तथा दैनिक गतिविधिमा सचेत रहन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्