तीन मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु
काठमाडौं, फागुन ७ – सर्लाहीमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ईश्वरपुर नगरपालिका–१३ स्थित ईश्वरपुर र हरिपुर्वा नगरपालिकाको सीमाक्षेत्रमा बुधबार राति दुर्घटना भएको हो। बाँके–संग्रामपुर सडक खण्डको ठिल्ला नजिक भारतीय नम्बरका तीनवटा मोटरसाइकल एकै ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेका थिए।
दुर्घटनामा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका ३० वर्षीय मुकेश राय र सोही उमेरका रामज्ञान राय गम्भीर घाइते भएका थिए। उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो।
दुर्घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

