प्रतिनिधिसभा निर्वाचनका लागि एमालेको घोषणापत्र सार्वजनिक, ‘समृद्ध नेपाल’ प्राथमिक एजेण्डा



काठमाडौं,फागुन ७ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको ‘देश पहिला’ शीर्षकको घोषणापत्र बहस कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लक्ष्य निर्धारणसहित प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ भन्ने नारालाई अघि सार्दै उक्त लक्ष्य पूरा गर्न पार्टीलाई विजयी गराउन मतदातासँग आग्रह गरेको छ। विगतमा सरकारमा रहँदा थालिएका तर पूरा गर्न बाँकी रहेका सुशासन, विकास, रोजगारी र सामाजिक न्यायका कार्यक्रमलाई प्राथमिकतामा राखिएको घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रमा तत्काल कार्यान्वयन गर्ने ११ काम, पाँच आधारभूत काम तथा २५ सङ्कल्प सार्वजनिक गरिएको छ। अध्यक्ष ओलीले भत्काउने र जलाउने राजनीति नभई बनाउने सङ्कल्पका साथ एमालेले देशको मुहार फेर्ने कामको नेतृत्व गर्ने दाबी गर्नुभयो।

उहाँले स्वाधीनता र राष्ट्रियताको पक्षमा एमाले सधैँ दृढ रहेको उल्लेख गर्दै पार्टी कुनै लोकप्रितावाद वा स्टन्टमा केन्द्रित नहुने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया दिनुहोस्