पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते



सर्लाही,फागुन ७ – सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते भएका छन्। मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्गवा–४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा पड्किँदा बालकलाई गोली लागेको हो। प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार बालकको दाहिने हातको पञ्जामा गोली लागेको छ।

प्रहरीले पेस्तोल नक्कली होला भन्ने ठानेर चलाउने क्रममा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। घाइते बालकको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ र हाल उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

गत फागुन ३ गते मलङ्गवामै अज्ञात व्यक्तिको गोली प्रहारबाट भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको थियो। उक्त घटनामा प्रयोग भएको हतियार नै हुनसक्ने आशंकामा प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्