डा. प्रणय शमशेर राणा कांग्रेसमा पुनः प्रवेश, भने- ‘म घर फर्किए’
काठमाडौं,फागुन ७ – डा. प्रणय शमशेर राणा पुनः नेपाली कांग्रेसमा फर्किएका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित प्रतिज्ञापत्रसम्बन्धी प्रश्नोत्तर कार्यक्रमपछि आयोजित पार्टी प्रवेश तथा घर फिर्ती कार्यक्रममा उनलाई औपचारिक रूपमा स्वागत गरिएको हो।
पार्टी सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएपछि भएको घर फिर्ती कार्यक्रममा सभापति थापाले डा. राणालाई पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै डा. राणाले आफू केही समय पार्टीबाहिर रहेर राजनीतिक अभ्यास सिकेर पुनः कांग्रेसमा फर्किएको बताए। “एउटा फुटबल खेलाडी कहिलेकाहीँ लोनमा अर्को क्लबमा खेल्न जान्छ, केही कुरा सिकेर फर्किन्छ। म पनि त्यसरी नै केही समय घरबाट बाहिर गएँ, राजनीतिक अभ्यास गरेँ, सिकेँ र अब फेरि आफ्नै घर फर्किएको छु,” उनले भने।
आगामी दिनमा नेपाली कांग्रेसलाई अझ सशक्त र दरिलो बनाउन पहिलेभन्दा बढी योगदान दिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

