भारी असिनापानीले गहुँ र तरकारी बालीमा क्षति



बाजुरा,फागुन ७ – बाजुराको त्रिवेणी नगरपालिकाका विभिन्न स्थानमा भारी असिना पानी परेपछि किसानको बालीमा क्षति पुगेको छ। आज दिउँसो करिब ३ बजेदेखि ४ बजेसम्म एक घण्टा लगातार असिना परेको स्थानीयले बताएका छन्।

त्रिवेणी नगरपालिका–७ का स्थानीय गोरख ऐडीका अनुसार मालाकोट, धामीबाडा, कोसेडी र तोलीको जुम्ली डाँडासम्म बाक्लो असिना परेको थियो। “एक घण्टासम्म लगातार परेको असिनाले गहुँबालीसँगै आलु, प्याज, टमाटरलगायतका तरकारी नष्ट पारेको छ,” उनले बताए।

हिउँदभर लगनशीलताका साथ लगाइएको खेती असिनाले सखाप पारेपछि किसान चिन्तित बनेका छन्। बाली नष्ट भएपछि आगामी दिनमा जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता किसानमा बढेको स्थानीयले बताएका छन्।

क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्