उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल र स्कुटर फेला, सम्बन्धितलाई बुझाइयो
काठमाडौँ, फागुन ७ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५३ मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ।
कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले ३१ मोटरसाइकल र २२ स्कुटर फेला पारी आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए।
उनका अनुसार भेटिएका सवारीसाधन अधिकांश उपत्यका वरिपरिका जिल्लामा प्रयोग भइरहेको अवस्थामा फेला परेका थिए। चोरी भएका मोटरसाइकल तथा स्कुटरको नम्बर प्लेट र बाहिरी स्वरूप परिवर्तन गरी नक्कली कागजपत्र बनाएर बिक्री गर्ने प्रवृत्ति देखिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सवारीसाधन हराएमा तत्काल नेपाल प्रहरीको हटलाइन १०० वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

