नुवाकोट तादीका ६ वटै वडामा हितबहादुर तामाङको घरदैलो सम्पन्न



नुवाकोट,फागुन ८– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिस्ट पार्टीका नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार हितबहादुर तामाङले आफ्नो चुनावी अभियान तीव्र पारेका छन्। दुप्चेश्वर गाउँपालिकाको कार्यक्रम सम्पन्न गरेपछि फागुन ६ गते बिहानदेखि तादी गाउँपालिका प्रवेश गरेका तामाङले दुई दिनमै पालिकाका सबै ६ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्।

अभियानमा बागमती प्रदेश सभा सदस्य तथा पार्टीकी केन्द्रीय सदस्य राधिका तामाङ र केन्द्रीय सदस्य बसन्तबहादुर बस्नेत पनि सक्रिय रूपमा सहभागी भएका थिए। घरदैलोका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै तामाङले विकास, रोजगारी, पूर्वाधार विस्तार र जनजीविकासँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अभियान टोलीका अनुसार तादीका विभिन्न वडामा मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै विकासमुखी छवि बनाएका तामाङप्रति स्थानीयले उत्साह देखाएको दाबी गरिएको छ। समर्थकहरूले उनलाई इमान्दार र काम गर्ने नेताका रूपमा चित्रण गर्दै समर्थन जनाइरहेका छन्।

निर्वाचन मिति नजिकिँदै जाँदा नुवाकोट क्षेत्र नम्बर १ मा चुनावी गतिविधि थप सक्रिय बनेको छ।

प्रतिक्रिया दिनुहोस्