कुलेखानी सडकखण्डमा स्कारपियो दुर्घटना, चार घाइते
मकवानपुर,फागुन ९। इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसी स्थित कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
शनिबार बिहान करिब ६ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ च ९७७७ नम्बरको स्कारपियो चालक निदाउँदा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल शाखा बाटोमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर ले जनाएको छ।
दुर्घटनामा कलैया उपमहानगरपालिका–२ निवासी ३८ वर्षीय चालक विजय यादव, कलैया उपमहानगरपालिका–७ बरेवा का ५० वर्षीय सन्तोष कुमार गुप्ता, उहाँकी श्रीमती ४० वर्षीया सोभा गुप्ता र १६ वर्षीय छोरा अनमोल गुप्ता घाइते भएका छन्।
घाइतेमध्ये सोभा गुप्ताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उहाँको कम्मर र टाउकोमा चोट लागेको छ भने अन्य घाइतेहरूको हात, खुट्टा, छाती र टाउकोमा चोट लागेको प्रहरी नायब उपरीक्षक पुस्कर बोगटी ले जानकारी दिनुभयो।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी फाखेल बाट प्रहरी सहायक निरीक्षक कमल खत्री को नेतृत्वमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ। दुर्घटनाग्रस्त स्कारपियो गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

