निर्वाचनमा प्राथमिक उपचार सेवा : नुवाकोट रेडक्रस स्वयंसेवक तयारी अवस्थामा



नुवाकोट,फागुन ९ । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले ‘निर्वाचन केन्द्रित प्राथमिक उपचार सेवा’ सञ्चालन गर्ने भएको छ।

निर्वाचन अवधिमा हुनसक्ने आकस्मिक स्वास्थ्य समस्या, बेहोस हुने अवस्था, सामान्य चोटपटक तथा अन्य आपतकालीन परिस्थितिलाई मध्यनजर गर्दै तालिमप्राप्त रेडक्रस स्वयंसेवकहरूलाई तयारी अवस्थामा राखिएको हो।

निर्वाचनको समयमा मतदान केन्द्र आसपास तुरुन्तै परिचालन हुने गरी स्वयंसेवकहरूलाई अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको जनाइएको छ।

रेडक्रस नुवाकोटका मन्त्री उद्धव शर्मा रिजालका अनुसार आवश्यक औषधि, प्राथमिक उपचार सामग्री, स्ट्रेचर लगायतका उपकरणसहित स्वयंसेवकहरू खटिने तयारी गरिएको छ।

यस पहलले मतदान प्रक्रिया सुरक्षित, व्यवस्थित र सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन स्वास्थ्य सेवा तयारीलाई प्राथमिकता दिइएको रेडक्रसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्