कोसी राजमार्गमा हाइस दुर्घटना : सात जना घाइते, चालक नियन्त्रणमा
धनकुटा,फागुन ९ । कोसी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका–१ स्थित निगालेमा शनिबार साँझ हाइस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। प्रहरीका अनुसार काठमाडौँबाट हिलेतर्फ जाँदै गरेको बा २ ख १५६७ नम्बरको हाइस साँझ करिब ५ बजेतिर अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा धनकुटा नगरपालिका–१ बस्ने ३६ वर्षीय रामचन्द्र तामाङ, १८ वर्षीय अभिषेक मगर, ३५ वर्षीय उमेस विक, १३ वर्षीया निश्मा विक र ३५ वर्षीया कल्पना विक घाइते भएका छन्। त्यस्तै पाख्रिबास नगरपालिका–६ बस्ने ३० वर्षीय डिकबहादुर मगर र ४० वर्षीय झमकबहादुर आले पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ज्ञानकुमार महतोले जानकारी दिनुभयो।
घाइतेमध्ये टाउकोमा चोट लागेका रामचन्द्र तामाङलाई जिल्ला अस्पताल धनकुटा मा सामान्य उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ। अन्य ६ जना घाइतेको जिल्ला अस्पताल धनकुटामै उपचार भइरहेको छ।
हुम्ला स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–९ एकान्तकुना बस्ने ३९ वर्षीय चालक विजय कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

