नुवाकोट–१ मा चुनावी सरगर्मी बढ्दो, हितबहादुर तामाङको घरदैलो अभियान तीव्र



नुवाकोट, फागुन ९ । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मीले नयाँ उचाइ लिएको छ। यस क्षेत्रका प्रभावशाली नेता, पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी का उम्मेदवार हितबहादुर तामाङले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै मतदाताको मन जित्ने प्रयास गरिरहनुभएको छ।

विगत केही दिनदेखि जारी ‘जनताको घरदैलो’ अभियानअन्तर्गत तामाङले लिखु गाउँपालिका का विभिन्न वडामा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद तथा टोल भेला सम्पन्न गर्नुभएको छ। अभियानका क्रममा उहाँले लिखु–५ स्थित न्याउली चोक र लिखु–६ को छहरे बजारमा स्थानीय व्यापारी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूसँग विशेष भेटघाट गर्नुभयो।

छहरेमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नुवाकोटको समग्र आर्थिक समृद्धिका लागि आफ्नो स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुभयो। उहाँले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर दीर्घकालीन विकास योजना अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।

टोल–टोलमा घरदैलो कार्यक्रमअन्तर्गत तामाङले लिखुको भट्टथोक र लामपाटी क्षेत्रमा पुगेर वृद्धवृद्धादेखि युवासम्मका समस्या सुन्नुभएको थियो। लिखु–३ स्थित चौखुडामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँलाई स्थानीयले भव्य स्वागत गरेका थिए। सो क्रममा स्थानीयवासीले अधुरा सडक आयोजना, खानेपानीको अभाव तथा कृषि उत्पादनको उचित बजार नपाएको गुनासो गरेका थिए।

मतदाताको आँगनमा उभिएर तामाङले विकास र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै भन्नुभयो, “म केवल चुनाव जित्नका लागि मात्र यहाँ आएको होइन, नुवाकोटको अधुरो विकासलाई पूर्णता दिन र जनताको सुख–दुःखको साक्षी बन्न फेरि तपाईंहरूको आँगनमा आइपुगेको छु। मलाई यो पटक पद होइन, तपाईंहरूको भरोसा चाहिएको छ, जसले अधुरा योजनाहरूलाई पूर्णता दिन शक्ति प्रदान गरोस्।”

तामाङले आफ्नो चुनावी एजेन्डामा कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिएको बताउनुभयो। विशेषगरी छहरे क्षेत्रलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्ने तथा गाउँ–गाउँमा स्वास्थ्य र शिक्षाको पहुँच विस्तार गर्ने उहाँको संकल्प रहेको छ।

अभियानमा पार्टीका स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मतदाताहरूले तामाङको सादगी र विकासप्रतिको प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएको अभियान टोलीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्