छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ



खोटाङ,फागुन १० । खोटाङ जिल्ला मा १३ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिक्तेल बोर्डिङ स्कुल मा कार्यरत टेकबहादुर खत्री रहेका छन्। उनी थुलुङ दुधकोसी गाउँपालिका–१ नेले, सोलुखुम्बुका बासिन्दा हुन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आरोपित शिक्षकले फागुन ९ गते होमवर्क सिकाइ दिने बहानामा छात्रालाई आफ्नै कोठामा बोलाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी दर्ता भएको हो। घटनापछि बालिकालाई करिब तीन घण्टासम्म कोठाभित्रै राखिएको पीडित परिवारले जनाएको छ।

बालिका रुँदै घर पुगेपछि अभिभावकले घटनाबारे जानकारी पाएका थिए। त्यसपछि परिवारले प्रहरीलाई जानकारी गराएको र तत्कालै शिक्षकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।

पीडित परिवारले लिखित जाहेरी दर्ता गरिसकेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। साथै बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल खोटाङ मा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्