रास्वपा नुवाकोट क्षेत्र नं. २ का पाँचै पालिका सभापतिद्वारा संयुक्त विज्ञप्ति, ‘पार्टी मजबुत छ’
नुवाकोट,फागुन १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटमा आबद्ध केही नेताहरूले पार्टी परित्याग गरेपछि निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका पाँचवटै पालिकाका सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरू पार्टीमै प्रतिबद्ध र सक्रिय रहेको स्पष्ट पारेका छन्।
रास्वपा नुवाकोट जिल्ला क्षेत्र नं. २ अन्तर्गतका पाँचै पालिका समितिको तर्फबाट जारी गरिएको विज्ञप्तिमा हालै केही सदस्यहरू पार्टी छाडेर बाहिरिएको सन्दर्भमा आम जनसमुदाय, समर्थक तथा मतदातामा कुनै भ्रम नहोस् भन्ने उद्देश्यले धारणा सार्वजनिक गरिएको जनाइएको छ।विज्ञप्तिमा पार्टी एक विचार, मूल्य र वैकल्पिक राजनीतिक अभियान भएको उल्लेख गर्दै व्यक्तिहरूको आगमन र बहिर्गमन लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भएको बताइएको छ। केही व्यक्तिको बहिर्गमनले संगठन कमजोर भएको भन्ने हल्ला निराधार रहेको दाबी गरिएको छ।
हाल नुवाकोट क्षेत्र नं. २ का पाँचै पालिका समिति र ४३ वटै वडा समिति सशक्त, एकीकृत र प्रतिबद्धताका साथ एउटै लक्ष्यतर्फ अघि बढिरहेको विज्ञप्तिमा उल्लेख छ। संगठनात्मक एकता, अनुशासन र साझा दृष्टिकोण अझ बलियो बनेको दाबी गरिएको छ।
रास्वपाले अघि सारेको सुशासन, पारदर्शिता, युवाशक्ति र समृद्ध नुवाकोट निर्माणको अभियान कुनै एक व्यक्तिमा सीमित नरहेको उल्लेख गर्दै हजारौं सदस्य, शुभेच्छुक र मतदाताको साझा सपनाका रूपमा यसलाई अगाडि बढाइने जनाइएको छ।
आम मतदाता, समर्थक तथा शुभेच्छुकलाई ढुक्क रहन आग्रह गर्दै पार्टी संगठन पूर्ण रूपमा एकजुट रहेको र जनताको भरोसा कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरिएको छ। “व्यक्ति होइन, विचार बलियो हुन्छ । विचार बलियो भयो भने संगठन झन् मजबुत हुन्छ,” भन्ने सन्देशसहित विज्ञप्ति सार्वजनिक गरिएको हो ।

