यस्तो छ नुवाकोट क्षेत्र नम्बर १ का काङ्ग्रेस उम्मेदवार डा. प्रकाशशरण महतको जीवनी
नुवाकोट,फागुन १० । २०१९ साल असोज १९ गते नुवाकोटको पञ्चकन्या–२, कविलासमा खड्गबहादुर महत र टोलकुमारी महतका सुपुत्रका रूपमा जन्मिनुभएका डा. प्रकाशशरण महत नेपाली राजनीतिमा अध्ययनशील, स्पष्टवक्ता र जिम्मेवार नेताका रूपमा परिचित हुनुहुन्छ। बाल्यकालदेखि नै लगनशील र जिज्ञासु स्वभावका उहाँ कक्षा ७ मा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघ को आदर्शबाट प्रेरित भई राजनीतिमा सक्रिय हुनुभएको थियो।
२०३६ सालको विद्यार्थी आन्दोलन, २०३७ सालको जनमत संग्रह र २०४२ सालको सत्याग्रहमा उहाँ अग्रपंक्तिमा रहनुभयो। त्यसबेला उहाँ नेपाल विद्यार्थी संघको महामन्त्री हुनुहुन्थ्यो। २०४६ सालको जनआन्दोलनमा नेपाली कांग्रेस को तर्फबाट एक्सन कमिटीमा रहेर सक्रिय भूमिका निर्वाह गर्नुभयो। पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै उहाँ २००२ सालदेखि निरन्तर केन्द्रीय सदस्यका रूपमा क्रियाशील रहँदै आउनुभएको छ। पार्टी प्रवक्ता, प्रचार विभाग प्रमुख तथा निर्वाचन परिचालन समितिको संयोजक जस्ता महत्वपूर्ण जिम्मेवारी पनि उहाँले सफलतापूर्वक सम्हाल्नुभएको छ।
२०६३ सालको अन्तरिम व्यवस्थापिकाबाट संसदीय यात्रा सुरु गर्नुभएका उहाँ पहिलो र दोस्रो संविधानसभामा विधायकका रूपमा निर्वाचित हुनुभयो। जननिर्वाचित प्रतिनिधिमार्फत संविधान निर्माण गर्ने ऐतिहासिक प्रक्रियामा उहाँको सक्रिय सहभागिता रह्यो। राज्य व्यवस्था समिति र संसदीय विशेष सुनुवाइ समितिमा रहँदा नीतिगत बहस र निर्णय प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्नुभयो।
राज्य सञ्चालनका विभिन्न तहमा उहाँले महत्वपूर्ण जिम्मेवारी पाउनुभयो। राष्ट्रिय योजना आयोगको सदस्य, परराष्ट्र राज्यमन्त्री, ऊर्जा मन्त्री तथा परराष्ट्र मन्त्रीका रूपमा काम गर्दै नीति निर्माण र कूटनीतिक सन्तुलन कायम राख्न भूमिका खेल्नुभयो। ऊर्जा मन्त्री रहँदा माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय गरिएको थियो, जसले ऊर्जा आत्मनिर्भरतातर्फको मार्ग प्रशस्त गर्यो।ढल्केवार–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणको निर्णयले विद्युत आपूर्तिमा सुधार ल्याउँदै लोडसेडिङ अन्त्यतर्फ महत्वपूर्ण योगदान दियो।
२०७३–२०७४ मा परराष्ट्र मन्त्री रहँदा नाकाबन्दीपछिको चुनौतीपूर्ण अवस्थामा नेपाल–भारत सम्बन्ध सुधार, आपूर्ति व्यवस्थाको सहजता र द्विपक्षीय विश्वास पुनःस्थापनामा उहाँले भूमिका खेल्नुभयो। सोही अवधिमा चीनसँग बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सम्बन्धी समझदारीमा हस्ताक्षर सम्पन्न भयो, जसले पूर्वाधार विकासमा नयाँ आयाम थप्यो।
अर्थमन्त्रीका रूपमा उहाँले कोभिडपछिको आर्थिक चुनौतीबीच यथार्थपरक नीति अवलम्बन गर्नुभयो। आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गर्दै पुँजीगत खर्चलाई प्राथमिकता दिइयो। अनावश्यक खर्च कटौती, राजस्व चुहावट नियन्त्रण, वित्तीय अनुशासन सुदृढीकरण र निजी क्षेत्रको विश्वास अभिवृद्धिमा जोड दिइयो। संरचनात्मक सुधारमार्फत दीगो आर्थिक आधार निर्माण गर्ने प्रयास उहाँको कार्यकालको विशेषता मानिन्छ।
शिक्षा र योग्यताको दृष्टिले पनि उहाँ अब्बल मानिनुहुन्छ। उहाँले Southern Illinois University Carbondale बाट अर्थशास्त्रमा पीएचडी उपाधि हासिल गर्नुभएको छ। University of Illinois Urbana-Champaign बाट नीति अर्थशास्त्रमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालय बाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ। आर्थिक विकास, शान्ति प्रक्रिया र परराष्ट्र सम्बन्धका विषयमा उहाँका अनुसन्धान तथा लेख राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्।
अध्ययन, अनुभव, वैचारिक स्पष्टता र संगठनप्रतिको निष्ठाले डा. प्रकाशशरण महतलाई नेपाली राजनीतिमा सुयोग्य, दक्ष, अनुभवी र कर्तव्यनिष्ठ नेताका रूपमा स्थापित गरेको छ।

