प्लास्टिकमा प्याक गरिएको अवस्थामा नवजात शिशु भेटियो, सकुशल उद्धार
धादिङ,फागुन १० । धादिङमा प्लास्टिकमा प्याक गरेर जंगलमा फालिएको अवस्थामा एक नवजात शिशु फेला परेको छ।
जिल्लाको गजुरी गाउँपालिका–५ स्थित पिंडा स्वास्थ्य चौकी नजिकै च्याङ्ली देउराली कुसुण्डे जंगल क्षेत्रमा आइतबार बिहान करिब ८ः३० बजे उक्त शिशु भेटिएको हो। जंगलको गोरेटो बाटोमा प्लास्टिकभित्र शिशु देखेपछि स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेका थिए।
खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर शिशुको सकुशल उद्धार गरेको जनाएको छ। प्रारम्भिक रूपमा हेर्दा शिशु एक दिनअघि जन्मिएको जस्तो देखिएको र अवस्था सामान्य रहेको बताइएको छ।
उद्धारपछि शिशुलाई प्रारम्भिक उपचारका लागि नजिकैको स्वास्थ्य चौकी लगिएको थियो। सामान्य स्वास्थ्य परीक्षणपछि थप उपचार तथा निगरानीका लागि गजुरी अस्पतालमा सारिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार जंगलमा फेला परेको नवजात शिशु छोरी रहेको छ। शिशुलाई कसले र किन त्यहाँ छाडेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

