काठमाडौं मनमैजुमा घरभित्र पसेको चितुवा डार्ट गरी उद्धार



काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित एक घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ।

आज अपराह्न मनमैजु मन्दिर नजिकै रहेको स्थानीय अनोजमणि अधिकारीको घरमा चितुवा पसेर आतंक मच्चाएको थियो। चितुवाले आक्रमण गर्दा स्थानीय दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका छन्। दुवैजनालाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौँ डिभिजन वन कार्यालयको टोली घटनास्थलमा पुगेर ‘डार्ट’ प्रयोग गरी चितुवालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार चितुवाको सफल उद्धार गरिएको छ।

घटनापछि उक्त क्षेत्रमा केही समय त्रास फैलिएको थियो। चितुवालाई नियन्त्रणमा लिएसँगै अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्