धादिङको बेनीघाटमा बस दुर्घटना, १७ जनाको मृत्यु
धादिङ,फागुन ११ । धादिङको बेनीघाट रोराङ गाउँपालिका अन्तर्गत चरौंदी नजिकै आज ठूलो बस दुर्घटना भएको छ। पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशुली नदी किनारमा खसेको हो।
दुर्घटनास्थलबाट प्राप्त पछिल्लो विवरणअनुसार हालसम्म १७ जनाको शव निकालिएको छ। घटनास्थलमा रहेका पत्रकार पोषनाथ अधिकारीका अनुसार मृतकमध्ये ४ महिला र १३ पुरुष रहेका छन्। मृतकमध्ये एक जना विदेशी नागरिक पनि रहेको बताइएको छ।
दुर्घटनापछि सुरक्षाकर्मी, स्थानीयवासी तथा उद्धार टोली घटनास्थलमा खटिएका छन्। घाइतेहरूको उद्धार तथा उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाउने कार्य भइरहेको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

