झापा–५ मा बालेन्द्र शाहले सार्वजनिक गरे वाचापत्र
काठमाडौं, फागुन ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाहले आफ्नो चुनावी प्रतिबद्धता पत्र (वाचापत्र) सार्वजनिक गरेका छन्।
शाहले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा उभिने मुख्य संकल्प गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्। उनले आफ्नो वाचापत्रमा नीति निर्माण र कानुनी सुधारमा सक्रिय रहने प्रतिबद्धता पनि जनाएका छन्।
वाचापत्रमा शाहले उल्लेख गरेका छन्: “राजनीतिलाई पेशा होइन, सेवा बनाउनेछु र जनताको विश्वासलाई काममा रूपान्तरण गर्नेछु।” भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता राख्ने र सार्वजनिक सेवालाई चुस्त-दुरुस्त बनाउने कुरामा उनले विशेष जोड दिएका छन्।
शिक्षा क्षेत्रमा विद्यालय छाड्ने दर शून्यमा झार्ने र सामुदायिक विद्यालयमा स्मार्ट क्लास तथा प्रयोगशाला स्थापना गर्ने योजना रहेका छन्। स्वास्थ्य क्षेत्रमा विपन्न परिवारका लागि निःशुल्क उपचारको ग्यारेन्टी, दमक अस्पतालको ३०० बेडमा स्तरोन्नति र घर-घरमा स्वास्थ्य सेवा कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने प्रतिबद्धता पनि शाहले जनाएका छन्।
भूमिहीन र सुकुमबासी समस्या समाधानका लागि कानुन निर्माण गर्ने र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने वाचा गर्दै उनले मतदातासँग भने, “म जनअपेक्षाअनुरूपको काम गर्न आएको हुँ, काम गर्न दिनुहोस्।”

